आलु ताछ्ने मेसिन
धरान— पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका मेकानिकल प्रोजेक्ट समूह 'सी' ले आलुको बोक्रा ताछ्ने मेसिन निर्माण गरेको छ । मेकानिकल तेस्रो वर्षअन्तर्गत दोस्रो खण्डको प्रोजेक्ट समूह 'सी' का रमेश चौधरी, रमेश सुतिहार, सन्दीप लावती, सन्तोष कोइराला, सन्तोष चौधरी, सन्तोष थेबे तथा सोत्न बी.के.ले सो मेसिन निर्माण गरेका हुन् ।
सो मेसिन होटल, क्यान्टिन, पिकनिक, सैनिक व्यारेक, ठूलो परिवार, चिप्स फ्याक्ट्री आदिमा प्रयोग गर्न सकिन्छ । मेसिनमा आलु मात्र होइन नासपति, स्याउ जस्ता गोला वस्तुहरूको बोक्रासमेत ताछ्न सकिने निर्माणकर्तामध्येका सन्दीप लावतीले बताए । यसको फाइदा एक मिनेटमा दुई किलो आलु ताछ्नु र एक किलोग्राम आलुबाट ५५ ग्रामसम्मको बोक्रा फ्याँक्नु हो । बजारमा आलु ताछ्ने मेसिनले धेरै बोक्रा ताछ्ने र समय खेर जाने हुनाले यो मेसिनको निर्माण गरिएको लावतीले बताए । नेपालमा पहिलोपल्ट निर्माण गरिएको उक्त मेसिनलाई बिस्तारै प्रयोगमा ल्याउने उनले बताए ।
मेसिन सानो र ठूलो गरी दुईवटा आकारमा निर्माण गरिएको छ । सानो मेसिनको लागत खर्च १ सय ५० रुपैयाँ छ भने ठूलो मेसिनको लागत खर्च ३ हजार ७ सय रुपैयाँ छ । दुई किलोग्रामसम्म क्षमता भएको उक्त मेसिनलाई आम उपभोक्तासम्म लान सकिनेछ ।
|